मोरङमा १ बजेदेखि मतगणना हुने

काठमाडौं: आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत मोरङमा आज दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ। मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा आज बिहान बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो।
बैठकले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिकको मतगणना पनि सँगै गर्ने निर्णय गरेको छ।
मतगणनालाई सहज बनाउन उम्मेदवार र एक/एक जना दलका प्रतिनिध मात्र बस्न पाउने निर्णय भएको छ भने भुलबस एकै खाले खसेका ५७ वटा मतपत्र बदर गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।
उनले मतगणना निर्वाचन आयोगको निर्देशिका बमोजिम हुने भन्दै मतगणनास्थलमा सुरक्षाको कडा प्रबन्ध मिलाएको बताए। मोरङको निर्वाचन क्षेत्र नं ४, ५ र ६ को विराटनगर महानगरपालिकाको आदर्श उच्च मावि, निर्वाचन क्षेत्र नं १ को उर्लाबारी नगरपालिका भवनमा, २ को रतुवामाई नगरपालिको विश्वनाथ मन्दिरमा र ३ को बेलबारी नगरपालिकाको भगवती माविमा मतगणना हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख कास्यप अधिकारीले जानकारी दिए।
मंसिर ५, २०७९ सोमबार १२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।