मुस्ताङबाट खाता खोल्यो कांग्रेसले: २९ वर्षीय योगेश विजयी, कान्छो जनप्रतिनिधि बन्ने सम्भावना

काठमाडौं: मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्। निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार ९९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिए।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गरे।
आइतबार सम्पन्न चुनावमा मुस्ताङमा १० हजार ९५७ मतदातामध्ये सात हजार २३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो। योगेश सम्भवतः कान्छो प्रतिनिधि सभा सदस्य बन्नेछन्। उनी मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुन्। उनी होटल, पर्यटन लगायतका व्यावसायमा आबद्ध रहेका छन्।
२०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार तुलाचन मुस्ताङबाट विजयी भएका थिए। यसपटक भने कांग्रेसले उठाएका नयाँ अनुहार निर्वाचित भएको हो।
उनी कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन्। मुस्ताङबाट रोमी दुई पटकसम्म निर्वाचन जितेका थिए। गत निर्वाचनमा प्रेम तुलाचनसँग भने उनी पराजित भएका थिए।
अहिले भने उनले आफू चुनाव नलडी छारोलाई उम्मेदवार बनाएका थिए।
मंसिर ५, २०७९ सोमबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।