प्रहरी जीप दुर्घटना: घाइतेको उद्धारका लागि हेलिकप्टर बोलाइयो

प्रहरी जीप दुर्घटना: घाइतेको उद्धारका लागि हेलिकप्टर बोलाइयो

काठमाडौं: दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोलामा भएको जीप दुर्घटनामा घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ। से१ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको थियो।

प्रहरी बोकेको जीप आज दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको छ। उनीहरूको सनाखत हुन बाँकी रहेको छ।

घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। उनले भने, “आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ।”

घाइतेलाई पाटन विमानस्थलमा ल्याएको र सेनाको हेलिकप्टरमा अस्पताल पुर्याइने बताइएको छ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कँदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो। जीप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ।

रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ। जीपमा चालकसहित १२ जना सवार थिए। घटनाको थप अनुसन्धान भइरहेको छ।

मंसिर ५, २०७९ सोमबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।