इक्वेडरको कप्तान चम्किदा कतार पहिलो खेलमै निराश, २-० ले नतिजा सुम्पियो

काठमाडौं : फिफा विश्वकप फुटबल २०२२ को उद्घाटन खेलमा आयोजक राष्ट्र कतार पराजित भएको छ। पहिलो खेलमा इक्वेडर २-० ले विजयी भयो।
अल बायत स्टेडियममा आइतबार राति भएको भएको खेलमा इक्वेडरका कप्तान इनर भ्यालेन्सिया नायक बने। चौथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो।
पहिलो गोल खेलको तीन मिनेटमा भए पनि अफ साइडका कारण रद्द भयो। खेलको १६ औँ मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुवाती अग्रता दिलाए।
कतारी गोलकिपर साद अब्दुल्लाह अल शिवले पेनाल्टी क्षेत्रभित्र भ्यालेन्सियालाई लडाएका थिए।
खेलको ३२ औँ मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २-० को जित दिलाए।
दुवै टोलीले दोस्रो हाफमा गोल गर्ने अवसर पाए पनि सफल भएनन्। कतारका खेलाडीले मौका पाए पनि बलले विपक्षीको जाली चुम्न पाएन
जितसँगै समूह 'ए' मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अङ्क जोडेको छ।
मंसिर ५, २०७९ सोमबार ००:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।