प्रदेशमा मत हाल्न प्रहरीले बोलाए, बालेन सुनेको नसुन्यै गरेर बाहिरिए
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सिनामंगलको अन्नपूर्ण स्कुलमा रहेको मतदान केन्द्रमा पुगे मत हाल्न। आफ्नो उही पुरानै ट्रेडमार्कको पोसाकमा रहेका उनी सरासर बुथमा पुगे।
पहिला प्रतिनिधि सभातर्फको प्रत्यक्ष र समानुपातिकमा भोट दिए। त्यसपछि पालो प्रदेशतर्फको प्रत्यक्ष र समानुपातिकतर्फको मत दिने थियो तर उनले मत दिएनन्। सरासर मतदान केन्द्रबाट बाहिर हिँडे।
मतदान केन्द्रमा रहेका प्रहरीले उनलाई बोलाएर मत हाल्न आग्रह गरेका थिए तर उनी सुनेको नसुन्यै गरेर मतदान केन्द्रबाट बाहिरिए। यस अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रदेशमा मत दिएनन्।
उनले मतपत्र भने लिएका थिए। उनले मतपत्र लिए पनि स्वस्तिक छाप नलगाई मतपत्र खसालेका थिए। तर बालेन्द्रले त मतपत्र पनि लिएनन्।
लामिछानेले प्रदेश तहमा मत नहाल्नुको कारण प्रदेश संरचनाप्रति दलको असहमति रहेको र त्यसैका आधारमा प्रदेशमा उम्मेदवारी नै नदिएको बताएका थिए। तर बालेन्द्र शाहले अहिलेसम्म प्रदेश संरचनाबारे आफ्ना कुनै धारणा सार्वजनिक गरेका छैनन्।
बालेनको यो व्यवहार उनी अब राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने सङ्केत हो त?
मंसिर ४, २०७९ आइतबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।