विश्वकप लिग–२ क्रिकेटका लागि नेपाली टाेली घाेषणा, काे-काे परे ?

काठमाडौं : आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबियामा आयोजना हुने श्रृंखलाका लागि नेपाली टिमको घोषणा भएको छ।
आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले राेहितकुमार पाैडेलकाे कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो। शृंखलामा नेपाल र नामिबियासहित स्कटल्यान्ड पनि रहेको छ।
यूएईसँगको श्रृंखलाका लागि टिममा परेका कमलसिंह ऐरी र आदिल आलमलाई नामिबिया शृंखलामा समावेश गरिएको छैन। नन्दन यादवले नेपाली टोलीमा स्थान बनाएका छन्।
श्रृंखलाका लागि नेपाली टोलीमा कप्तानसहित अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, सागर ढकाल, गुलसन झा, हरिशंकर शाह, नन्दन यादव र ललित राजवंशी रहेका छन्।
विश्वकप लिग–२ मा रहेका सात टोली हरेकले ९ वटा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्छन्। नेपाल २० खेलबाट १७ अंक जोडेर तालिकाको छैटौँ स्थानमा रहँदा शीर्षस्थानमा रहेको ओमानको ३६ खेलबाट ४४ अंक रहेको छ।
स्कटल्यान्डको २८ खेलबाट ४०, अमेरिकाको ३२ खेलबाट २९, यूएईको २६ खेलबाट २७ र नामिबियाको २२ खेलबाट २६ अंक रहेको छ।
तालिकाको शीर्ष तीन टोली विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् भने बाँकी चार टोलीले विश्वकप छनोटका लागि प्ले अफ खेल्नुपर्ने छ।
मंसिर ४, २०७९ आइतबार १९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।