पातलो मतदान, कतै हवाई फायर कतै झडप

पातलो मतदान, कतै हवाई फायर कतै झडप

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको प्रतिनिधि छान्न भइरहेको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा भइरहेको छ। तर मतदाताको उपस्थिति भने निकै पातलो छ। उत्साह देखिने सहरी क्षेत्रमा निकै पातलो देखिन्छ बुथहरू।

अधिकांश स्थानको मतदान शान्तिपूर्ण भए पनि केही स्थानमा झडप भएर केही बुथको निर्वाचन स्थगित भएका छन्। स्याङ्जाको चापाकोट नगरपालिका-१ आँधीचौघेराको भानु मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका प्रतिनिधिबिच विवाद हुँदा मतदान प्रक्रिया रोकियो।

अछामको मङ्गलसेन नगरपालिका -८ को सरस्वती आधारभूत विद्यालयमा दलका प्रतिनिधिहरूबिच विवादपछि मतदान रोकियो।

मतदान केन्द्र (क) मा प्रदेशसभा र प्रतिनिधिसभा दुवैको लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएपछि प्रतिनिधिहरूबिच विवाद उत्पन्न भएको थियो।

हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर -५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा एक जना नेपाल प्रहरीका असई घाइते भए।

हुम्लाको दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भयो।

मत हाल्न पुगेका एक मतदाताको मत पहिल्यै अरूले हालेको खुलेपछि विवाद भएको थियो। दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति मावि पुतलीकाठ मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ।

सर्लाहीको गोडैता र रौतहटको गुजरामा दुई पक्षबीच झडप भएको छ। गोरखा लगायतका केही जिल्लाहरुमा शङ्कास्पद वस्तु फेला परे।

चितवन क्षेत्र नम्बर १ अन्तर्गत ब्रह्म स्थानी मतदान केन्द्रमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ। 

मंसिर ४, २०७९ आइतबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।