पार्टीको उम्मेदवार छैन भन्दै रविले प्रदेशमा मत हालेनन्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनामा अहसमती रहेको भन्दै मतै नहाली खाली मतपत्र बाकसमा हाले।
काठमाडौँ-६ महाकाँलका मतदाता रहेका उनी पानीट्याङकी नजिकैको मतदान केन्द्रमा मत हाल्न पुगेका थिए।
उनले प्रतिनिधि सभातर्फको दुवै मत हाले। तर प्रदेशमा भोटै हालेनन्। उनले बुथमा रहेका कर्मचारीबाट मतपत्र लिए लगत्तै मत चिन्ह दिने बुथमै नगई बाहिरै बाकसमा मत पत्र खसालेका थिए। प्रदेशतर्फ अन्य स्वतन्त्र उम्मेदवार पनि छन्। तर उनले स्वतन्त्र उम्मेदवारहरुलाई पनि मत दिएनन्।
श्रीमतीसहित मत हाल्न पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रतिनिधि सभाका लागि मत दिए पनि प्रदेशमा आफ्नो पार्टीको उम्मेदवार पनि नभएको र अहिलेको प्रादेशिक संरचनामा पार्टी असहमत रहेकाले मत नदिएको उनले बताए।
यदि आफ्नो पार्टीको धारणा अनुसार प्रादेशिक संरचना बदल्ने हो भने अर्को निर्वाचनमा प्रदेश निर्वाचनमा पनि सहभागी हुने र मत पनि दिने उनले दाबी गरे।
रवि आफैँ चितवन-२ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका छन्। तर उनले अमेरिकी नागरिक भएपछि खारेज भएको नेपाली नागरिकता ब्युँताउन कानुनी प्रक्रिया नै पुरा नगरेको खुलेसँगै उनको उम्मेदवारी सङ्कटमा छ।
उनले समेत उकेराले सार्वजनिक गरेको नागरिकता नै उम्मेदवारी दर्तामा प्रयोग गरेको स्विकारिसकेका छन्।
उनको नागरिकता प्रक्रियामा रहेको तर सक्रिय भई नसकेको पुष्टि भएमा मत परिणाम उनकै पक्षमा आए पनि नतिजा बदर भएर उपनिर्वाचन हुनेछ भने उनले सो नागरिकता प्रयोग गरेर पाएका सबै कानुनी प्रक्रिया रद्द हुनेछ।
मंसिर ४, २०७९ आइतबार १४:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।