आफैँ पढेको विद्यालयमा मतदान गरे प्रधानमन्त्री देउवाले, एमालेले बहुमत ल्याउने ओलीको अपेक्षा

आफैँ पढेको विद्यालयमा मतदान गरे प्रधानमन्त्री देउवाले, एमालेले बहुमत ल्याउने ओलीको अपेक्षा

काठमाडौं: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा मतदान गरेका छन्। उनले गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा आज बिहान मतदान गरेका हुन्।

प्रधानमन्त्री देउवाले सोही मतदान केन्द्र रहेको विद्यालयमा अध्ययन गरेका थिए।

देउवा नेपाली कांग्रेसका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत हुन्। विसं २०४८ देखि डडेल्धुराबाट निरन्तर चुनाव जित्दै आएका देउवाको यो सातौँ पटकको उम्मेदवारी हो।

यसपटक देउवाको प्रतिस्पर्धीको रूपमा कांग्रेस बीपीका कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल देखापरेका छन्।

यस्तै पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मतदान गरेका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्र पुगेर उनले मतदान गरेका हुन्।

मतदान गरेपछि ओलीले एमालेले बहुमत ल्याउने अपेक्षा गरेको सञ्चारकर्मीहरूसँग बताए।

ओली यसपटक पनि प्रतिनिधि सभातर्फ झापा- ५ का उम्मेदवार हुन्। उनको प्रतिस्पर्धीको रूपमा नेपाली कांग्रेसका खगेन्द्र अधिकारी रहेका छन्।

मंसिर ४, २०७९ आइतबार १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।