मौसम सफा भएकाले ढुक्कले मतदान गर्न महाशाखाको आग्रह

मौसम सफा भएकाले ढुक्कले मतदान गर्न महाशाखाको आग्रह

काठमाडौं: प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ। आजको दिन मौसम कस्तो होला भन्ने धेरैलाई चासो हुनसक्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतया सफा रहने छ। त्यसैले ढुक्कका साथ मतदान गर्न महाशाखाले आग्रह गरेको छ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले आज देशैभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिए। 'आज देशभरको मौसम सफा रहेको छ। हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ, तर, त्यति धेरै असर हुने देखिँदैन', उनले भने।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश १, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफला रहने छ। सोही प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

आज काठमाडौंको तापक्रम न्यूनतम आठ दशमलव आठ र अधिकतम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ।

मंसिर ४, २०७९ आइतबार १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।