तनहुँबाट पौडेल, राना र जोशीले गरे मतदान, गण्डकीका मुख्यमन्त्री पोखरेलले नवलपुरबाट हाले भोट

तनहुँबाट पौडेल, राना र जोशीले गरे मतदान, गण्डकीका मुख्यमन्त्री पोखरेलले नवलपुरबाट हाले भोट

पोखरा: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको क्षेत्र नं १ अन्तरगत पर्ने व्यास नगरपालिका–२ स्थित सत्यवति माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्। पौडेलले गठबन्धनका तर्फबाट यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी पनि दिएका छन्।

त्यसैगरी यसै क्षेत्रबाट एमालेका तर्फबाट उम्मेदवार बनेका एकबहादुर रानाले पनि मतदान गरे। उनले भानु नगरपालिका–३ को मतदान केन्द्रबाट मतदान गरेका हुन्।

त्यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले पनि मतदान गरेका छन्। उनले भानु नगरपालिका–११ रूपाकोटमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्। तनहुँ क्षेत्र नं १ बाट कांग्रेसका पौडेल, एमालेका राना र स्वतन्त्रका जोशीबीच त्रिपक्षिय प्रतिस्पर्धा हुँदैछ।

गण्डकीका मुख्यमन्त्री पोखरेलले नवलपुरबाट गरे मतदान
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरबाट मतदान गरेका छन्। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मुख्यमन्त्री पोखरेलले नवलपुरको गैँडाकोट–१ स्थित शमशेर मावि, जौजुवा ‘क’ केन्द्रबाट मतदान गरेका हुन्।

मंसिर ४, २०७९ आइतबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।