केन्द्रीय कारागारका सात कैदीबन्दीले गरे मतदान

केन्द्रीय कारागारका सात कैदीबन्दीले गरे मतदान
साङ्केतिक तस्बिर

काठमाडौं: केन्द्रीय कारागार जगन्नाथदेवल मतदान केन्द्रबाट सात कैदीबन्दीले मतदान गरेका छन्। आठ कैदन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।

एक कैदीबन्दीको भने यसअघि नै अर्को कारागारमा स्थानान्तरण भएको थियो। बिहान ७ बजे नै मतदान सुरु भएमा ८ बजेअगावै उनीहरूले मतदान गरेका हुन्। सो मतदान केन्द्रमा आठ कैदीबन्दी र १२ कर्मचारी गरी २० जनाको मतदाता नामावली कायम थियो।

मतदाता सूचीमा रहेका १२ मध्ये ११ कर्मचारी निर्वाचनमा खटिइएकाले मतदान अधिकृत पाण्डेले मात्र सो केन्द्रबाट मतदान गरे। उनीहरूले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्र मतदान गरेका हुन्।

यस्तै केन्द्रीय कारागार मातहत रहेका तीनवटा कारागारमध्ये केन्द्रीय कारागारमा चार र भद्र बन्दीगृहका तीन बन्दीले मतदान गरेका हुन्। महिला कारागारमा रहेका कैदीबन्दीको भने मतदाता नमावलीमा नाम नरहेको बताइएको छ। केन्द्रीय कारागारमा तीन हजार ४०० बढी कैदीबन्दी रहेका छन्।

निर्वाचन आयोगले पहिलोपटक मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था गरेको थियो। 

मंसिर ४, २०७९ आइतबार १०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।