मतदान गरेपछि भुसालले भने, आउँदो सरकारले 'कमन मिनिमम् प्रोग्राम' ल्याउनुपर्छ

मतदान गरेपछि भुसालले भने, आउँदो सरकारले 'कमन मिनिमम् प्रोग्राम' ल्याउनुपर्छ

बुटवल: रुपन्देही- १ का वाम गठबन्धनका उम्मेदवार घनश्याम भुसालले मतदान गरेका छन्। तिलोत्तमा वडा नं ९ को गौतमबुद्ध आधारभूत विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।

भुसालले यसपटकको निर्वाचनमा एमालेबाट टिकट नपाएपछि पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई सत्ता गठबन्धनले सघाएको छ। उनको प्रतिस्पर्धी आफ्नै सहकर्मी एमालेका छविलाल विश्वकर्मा छन्।

'हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ। र कुनै पनि व्यवस्थाको अभ्यासले समय लिन्छ। त्यसका उतारचढावबाट हरेक व्यवस्था गुज्रन्छ। तर बीचको राजनीतिक पार्टीको केही असावधानीले, केही विवेकपूर्ण अभ्यास नहुँदा जसरी यसलाई लैजान सक्थ्यौँ त्यसमा केही राजनीतिक अस्थिरताहरू आए', उनले भने, 'तर फेरि पनि यो 'लिग'मा आएको छ। संविधानको अभ्यास फेरि सहज हुन थालेको छ। यस अर्थमा हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचनले हामीलाई अझ बलियो बनाउने छ।'

देशको संवैधानिक व्यवस्थाले पनि कुनै न कुनै अर्थमा गठबन्धनको माग गर्ने बताउँदै भुसालले चुनावपछि आउने सरकारले शिक्षा, स्वास्थ्य, विदेश नीतिलगायतमा 'कमन मिनिमम् प्रोग्राम' ल्याउनुपर्ने बताए। उनले भने, ‘घोषणापत्रको जस्तो होइन डिटेल प्रोग्राम गरे भने हाम्रो व्यवस्थाको अभ्यास अझै राम्रो हुन्छ। त्यो एकदमै जरुरी पनि छ। म चाहिँ त्यो पार्टीहरूले गरून् भन्ने चाहन्छु।’

मंसिर ४, २०७९ आइतबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।