फुटबलको महाभिडन्त 'विश्वकप २०२२' आजबाट सुरु, कतार र इक्वेडरबीच उद्घाटन खेल हुने

काठमाडौं: विश्वभर चर्चित भएको खेल हो- फुटबल। र आजबाट फुटबलको पनि महाभिडन्त सुरु हुँदैछ।
'कतार विश्वकप २०२२' नेपाली समयअनुसार आज राति ९:४५ को कतार र इक्वेडरबीचको खेलबाट सुरु हुनेछ। विश्वकपको औपचारिक उद्घाटन भने त्यसअघि नै विभिन्न कार्यक्रमसहित हुनेछ।
सदाझैँ विश्वकपमा ३२ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। जसमध्ये आयोजक कतारबाहेक सबै राष्ट्रले छनोट चरण पार गरेर आएका हुन्।
यसपटकको विश्वकपको दावेदार अर्जेन्टिना र ब्राजिललाई मानिएको छ। यस्तै फ्रान्स, बेल्जियम र पोर्चुगल पनि 'फ्यान्स फेबरेट' हुन्।
आजको उद्घाटन खेलका प्रतिस्पर्धीमध्ये कतारले पहिलो पटक विश्वकप खेल्दैछ। कतारका प्रशिक्षक फेलिक्स सान्चेजले आफूहरूले विश्वकप नजित्ने तर उच्च तहको खेल प्रदर्शन गर्ने बताएका छन्। पछिल्लो २१ विश्वकपमध्ये १३ विश्वकपमा आयोजक राष्ट्रले सेमिफाइनलको यात्रा तय गरेकाले पनि कतारमा आज आत्मविश्वास देखिएको छ।
यता इक्वेडरले भने तीन पटक विश्वकप खेलेको छ। सन् २००६ को विश्वकपमा इक्वेडर अन्तिम १६ सम्म पुगेको थियो। यो नै उसको विश्वकपमा हालसम्मको उत्कृष्ट प्रदर्शन हो।
खेल अल-बेयट रङ्गशालामा हुनेछ। खेलको रेफ्री इटालीका ड्यानिएले ओर्साटो हुनेछन्। ४६ वर्षीय ओर्साटोले सन् २०१८ को रुस विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्रीको रूपमा काम गरेका थिए। यस्तै उनी सन् २०२० को यूईएफए च्याम्पियन्स लिगको फाइनलको रेफ्री पनि थिए।
मंसिर ४, २०७९ आइतबार ०८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।