पहिलो पटक मतदान गर्दैछन् कैदीबन्दी, काठमाडौं उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा

काठमाडौं: आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा यसपटक कारागारका कैदीबन्दीले पनि मताधिकारको प्रयोग गर्दैछन्। मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसूरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधि सभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
यसैबीच, काठमाडौं उपत्यकामा रहेका तीन कारागारमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सम्बन्धित कार्यालयले जनाएका छन्। काठमाडौंका दुई र ललितपुरका एक कारागारमा रहेका कैदीबन्दीमध्ये १८२ जनाले मतदान गर्न पाउनेछन्।
कारागार कार्यालय काठमाडौंमा एक सय १० र जगन्नाथदेवलमा २० तथा कारागार कार्यालय ललितपुर ५२ कैदीबन्दीले मतदान गर्नेछन्। कारागार कार्यालय जगन्नाथलेवलमा तीन हजार ४००, कारागार कार्यालय काठमाडौंमा ६५० र कारागार कार्यालय ललितपुरमा एक हजार ४२० भन्दाबढी कैदीबन्दी छन्।
कारागार कार्यालय जगन्नाथदेवलमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको कार्यालयका उपसचिव वेदप्रसाद खरेलले जानकारी दिए। उनले निर्वाचन अधिकृतको कार्यालयबाट मतदान सामग्री बुझेर ल्याइएको बताए। आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।
आयोगले यसपटकदेखि मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएकाबाहेकका कारागारमा रहेका कैदी र बन्दीलगायत व्यक्तिलाई प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको व्यवस्था मिलाएको छ। त्यसका लागि देशभर १४१ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ।
आयोगले २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याएको हो। देशभर चार लाख ५० हजार अस्थायी मतदाता छन्।
मंसिर ३, २०७९ शनिबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।