'रवि लामिछानेको समाचार'लाई लिएर उकेराका सम्पादक ढुङ्गानामाथि लाञ्छना लगाउने कार्य निन्दनीय: पत्रकार महासङ्घ

काठमाडौं: चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेको विषयमा प्रकाशित समाचारलाई लिएर उकेराका सम्पादक केपी ढुङ्गानामाथि सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने, अश्लील शब्दहरू प्रयोग गरी अनेक लाञ्छना लगाउने क्रियाकलापप्रति नेपाल पत्रकार महासङ्घ, एसोसिएट प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ।
समितिका महासचिव रोयल आचार्यले एक विज्ञप्ति जारी गरी समाचारको विषयलाई लिएर सम्पादक ढुङ्गानालाई हतोत्साहित बनाउने गरी गरिएका क्रियाकलाप निन्दनीय भएको जनाएका छन्। यस्तो कदम प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको पनि उल्लेख गरिएको छ।
'कुनै एक व्यक्ति वा कुनै राजनीतिक दलको स्वार्थको लागि पत्रकारिता क्षेत्रलाई दबाब दिने र हतोत्साहित बनाउने कार्य हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति (रवि लामिछाने) स्वयंले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन जुन प्रकिया पूरा गर्नुपर्ने हो त्यो नगरेको र पुरानै नागरिकताको आधारमा आफूले काम गरिरहेको स्वीकार गरिसक्नु भएको छ', विज्ञप्तिमा भनिएको छ।
उकेरा डटकममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले अमेरिकी नागरिकता त्यागेपश्चात् पुनः प्रकिया पूरा गरेर नागरिकता लिनुपर्ने व्यवस्था भए पनि सो प्रक्रिया पूरा नभएको समाचार प्रकाशित भएको थियो।
लामिछाने स्वयंले आफ्नो कमजोरी स्वीकार गरिसकेको अवस्थामा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी पत्रकारमाथि गरिएको दुर्व्यवहार तत्काल रोक्नुपर्ने पनि महासङ्घको एसोसिएट समितिले जनाएको छ। साथै समाचार चित्त नबुझे वा समाचारप्रति गुनासो रहे त्यसको निरुपणको लागि प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रावधान हुँदाहुँदै समूह नै सक्रिय भएर सञ्चारमाध्यम र पत्रकारको साख गिराउने कार्यप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन महासङ्घ एसोसिएट प्रदेश समितिले अनुरोध गरेको छ।
यस्तो छ लामिछानेको विषयमा प्रकाशित समाचार
मंसिर ३, २०७९ शनिबार १३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।