अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएकाले रोल्पामा महिला मतदाता धेरै

अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएकाले रोल्पामा महिला मतदाता धेरै
फाइल तस्बिर

काठमाडौं: प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि रोल्पामा पुरुषको तुलनामा महिला मतदाता सङ्ख्या बढी रहेको छ। जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देशबाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको हो।

जिल्लामा एक सय ७७ मतदान केन्द्रबाट एक लाख ४५ हजार ४७१ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिए। उनका अनुसार प्रदेश सभा (क) मा ६८ हजार एक सय ६४ र प्रदेश सभा (ख) मा ७७ हजार ३०७ मतदाता छन्।

जिल्ला निर्वाचन कार्यालय रोल्पाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने बताइएको छ। निर्वाचनका लागि रोल्पामा तीन सुरक्षा अङ्गका करिब दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ।

निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र मतपेटिका पुगिसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए। निर्वाचनमा सुरक्षाका कारण कुनै समस्या नहुने भएकाले ढुक्क भएर मतदान गर्न प्रजिअ सापकोटाले आग्रह गरे।

निर्वाचनका लागि रोल्पामा ८६ मतदानस्थलको व्यवस्था छ। जिल्ला सुरक्षा समितिले जिल्लाका ती मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा बन्दोबस्ती गरेको छ।

सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ।

मंसिर ३, २०७९ शनिबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।