चितवनको मतगणनास्थलमा तारजाली र सीसीटीभी क्यामेरा

चितवनको मतगणनास्थलमा तारजाली र सीसीटीभी क्यामेरा
फाइल तस्बिर

चितवन: मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ। जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा रहेकाले यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ।

चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ। त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ। यस्तै क्षेत्र नं २ को मतगणना चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा गरिने अधिकृत थापाले जानकारी दिए। सो ठाउँमा शुक्रबार सरसफाई र तारजाली लगाउने काम भएको उनले बताए।

क्षेत्र नं २ को चार ठाउँमा मतगणना गर्ने गरी तयारी गरिएको छ। यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ। यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ।

अधिकृत थापाले विगतमा मतपत्र च्यातिएर दाग लागेको भन्दै त्यसलाई मेटाउनका लागि सबै राजनीतिक पार्टीहरूलाई आफूले अनुरोध गरेको बताए। उनले जिल्लाभर मतदान र मतगणनास्थल निर्माणको काम लगभग सकिएको जानकारी दिए। उनले सबै ठाउँमा आवश्यकतअनुसार कर्मचारी खटाइएको बताए।

मंसिर ३, २०७९ शनिबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।