‘सिट भरियो’ भन्दै दुबई जाने यात्रु अलपत्र पारेपछि नेपाल एयरलाइन्सलाई स्पष्टीकरण

‘सिट भरियो’ भन्दै दुबई जाने यात्रु अलपत्र पारेपछि नेपाल एयरलाइन्सलाई स्पष्टीकरण

काठमाडाैं : नेपाल एयरलाइन्सकाे हवाइजहाजको सिट क्षमताभन्दा बढि टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ।

यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पुर्याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो।

निगमको मंसिर १ गते (बिहीबार)को दुईवटा उडानमा सिट क्षमताभन्दा बढि टिकट काटिएका कारण एअरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो।

टिकट काटेर एअरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नरहेकाे भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए।

‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए–२३९को काठमाडौंदेखि दोहा तथा उडान नम्बर आरए २२९ को काठमाडौं–दुबई जाने हवाइजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ’, प्राधिकरणले आज निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ।

मंसिर २, २०७९ शुक्रबार २१:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।