कतार विश्वकपमा रङ्गशालाभित्र मदिरा प्रतिबन्ध

कतार विश्वकपमा रङ्गशालाभित्र मदिरा प्रतिबन्ध

काठमाडाैं : फिफाले प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि आफ्नो नीति परिवर्तन गरेपछि कतारमा विश्वकप खेल हुने आठवटा रङ्गशालामा मदिरा विक्री नहुने भएको छ।

मदिराको विक्रीलाई कडाइका साथ नियन्त्रण गरिएको मुस्लिम देश कतारमा यसअघि रङ्गशालाभित्रका केही निश्चित क्षेत्रमा मदिरा उपलब्ध हुने व्यवस्था मिलाइएको थियो।

यद्यपि प्रतियोगिता हुने रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले अझै पनि मदिरा किन्न सक्नेछन्। कतारमा आइतबार विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। उक्त खेलको पहिलो प्रतिस्पर्धा कतार र इक्वेडरबीच हुनेछ।

फिफाको प्रमुख प्रायोजक बडवाइजर बियर एबी इनबेभको स्वामित्वमा हो। उसले विश्वकपमा बियर बेच्ने विशेषाधिकार पाएको थियो।

'आयोजक देशका अधिकारीहरू र फिफा बीचको छलफलपछि कतारको फिफा विश्वकप २०२२ रङ्गशाला परिधिबाट बियर विक्रीकेन्द्रहरू हटाउँदै फिफा फ्यान फेस्टिभल, अन्य फ्यान गन्तव्य र इजाजतपत्र प्राप्त स्थानमा मादक पेय पदार्थको विक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ,' फिफाले जारी गरेको वक्तव्यमा भनिएको छ।

वक्तव्यमा बड जिरोको विक्रीमा कुनै असर नपर्ने र कतारका सबै विश्वकप रङ्गशालाहरूमा उपलब्ध हुने जनाइएकाे छ।

मंसिर २, २०७९ शुक्रबार २०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।