मतदानपूर्वको मानव अधिकार आयोगद्वारा ६७ जिल्लामा अनुगमन, मतदानको दिन १० टोली खटिने

मतदानपूर्वको मानव अधिकार आयोगद्वारा ६७ जिल्लामा अनुगमन, मतदानको दिन १० टोली खटिने

काठमाडौं : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा राष्ट्रिय मानवअधिकार आयोगको ३२ वटा  टोलीले सातै प्रदेशका ६७ जिल्लामा अनुगमन गरेको छ।

अनुगमनका क्रममा बाँकेको नेपालगञ्ज र भोजपुर जिल्लामा बम विष्फोट हुँदा ३ जना घाइते भएको, दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएको, चितवनको भरतपुरमा स्वतन्त्र पार्टीका उम्मेदवार र कांग्रेसका उम्मेदवारको सवारी साधनमा आक्रमण गरिएको लगायतका घटनाहरू भएको पाइएको आयोगले जनाएको छ।

यस्तै, दाङ, प्युठान, रसुवा, नुवाकोट, रामेछाप, डोटी, काठमाडौं लगायतका ७२ जिल्लामा ठूला दलका उम्मेदवारले नै निर्वाचन गतिविधिमा बालबालिकालाई प्रयोग गरेका १ सय ६५ वटा सूचनाहरू आयोगलाई प्राप्त भएको जनाइएको छ। टिकटक बनाउने, प्रचारप्रसारको क्रममा नाचगानमा प्रयोग गर्ने र विद्यालयमा प्रचार सामग्री टाँस्न लगाउने गरिएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए।

मतदाता नामावलीमा नाम नभएका कारण कारागारमा रहेका धेरै कैदी बन्दीहरुले मतदान गर्न नपाउने अवस्था आएको तथा जाजरकोट, रुकुम, रोल्पा, सल्यान लगायतका जिल्लामा स्थानीय नागरिकहरूलाई मतदान नगर्न दबाब दिँदै सभा तथा कार्यक्रमहरू गरिरहेको पनि आयोगको अनुगमनमा भेटिएको छ।

आयोगले निर्वाचन प्रचारप्रसार र बालबालिकाको प्रयोग जस्ता निर्वाचन आचारसंहिता उल्लघंनका विषयलाई नियमन र नियन्त्रण गर्न निर्वाचन आयोगले देखाएको तदारुकतालाई सकारात्मक रुपमा लिएको जनाएको छ।

मंसिर ४ गते निर्वाचनको दिनमा मानव अधिकार अवस्था अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्यहरू, सचिव, सहसचिव, आयोगका पूर्व पदाधिकारीहरू नेतृत्वको १० वटा अनुगमन टोलीले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ जिल्लाहरुमा अनुगमन गर्नेछ।

आयोगले राजनीतिक दल एवं निर्वाचनमा खटिने सबै पक्षलाई निर्वाचन आचारसंहिताको अक्षरशः पालना गर्न, गराउन तथा निर्वाचन असहमति जनाएका समूहलाई पनि निर्वाचन विरोधी तथा हिंसात्मक गतिविधिहरू नगर्न, नगराउन समेत आयोग विशेष आग्रह गरेको छ।

मंसिर २, २०७९ शुक्रबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।