युएईविरुद्धको तीन खेलको एकदिवसीय सिरिज नेपालले जित्यो

युएईविरुद्धको तीन खेलको एकदिवसीय सिरिज नेपालले जित्यो

काठमाडौं : युएईविरुद्धको तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेल ६ विकेटले जित्दै नेपालले सिरिज जितेको हो।

१७७ रनको लक्ष्य पछ्याएको नेपालले ५९ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो।

उसका लागि ज्ञानेन्द्र मल्लले ६४ रनको अर्धशतकीय पारी खेल्दा, कप्तान रोहित पौडेलले १०, अर्जुन साउदले ९ र दीपेन्द्रसिंह ऐरीले एक रन पनि नबनाइ आउट भए।

आशिफ शेख र हरिशंकर शाहले अविजित रहँदै क्रमशः ८८ र ४ रन बनाए।

बलिङतर्फ आयान अफ्जल खान र हजरत बिलालले एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनायो। ३२ ओभरमा ९६ रन बनाउँदा ९ विकेट गुमाएको युएईको पारीलाई आयान अफ्जल खान र हजरत बिलाले सम्हाले।

उसका लागि आयानले ५४ रनको अविजित अर्धशतकीय पारी खेल्दा अलिसान सराफुले ३३, रोहन मुस्तफाले २४, मोहम्मद वसीमले ११ रन बनाउँदा बिलाले अविजित २० रन जोडे।

नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान दुई–दुई विकेट लिँदा ललित राजवंशी र सोमपाल कामीले समान एक–एक विकेट लिए।

सिरिजको पहिलो खेल ८४ रनले पराजित भएको नेपालले दोस्रो खेल ३ विकेटले जितेको थियो। योसँगै नवनियुक्त कप्तान रोहित पौडेलको पहिलो कप्तानी नै सफल भएको छ।

मंसिर २, २०७९ शुक्रबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।