कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीलाई मतदान गराउन जुम्लामा दुई अस्थायी मतदान केन्द्र

काठमाडौं: यही मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि जुम्लामा थप दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ। कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउन जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्ला र जिल्ला कारागार कार्यालयमा एक/एक अस्थायी मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रसेवक र अन्य मतदातालाई मतदानमा सरिक गराउने नीतिअनुरूप अस्थायी मतदान केन्द्र राखिएको उक्त कार्यालयले जनाएको छ। मतदाता सूचीमा नाम दर्ता भएका १४ कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएका छन्।
जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीसहित एक हजार मतपत्र समानुपातिकतर्फ आएको छ। जिल्लामा १०६ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ।
प्रतिनिधि सभा सदस्यका लागि एक मात्र क्षेत्र रहेको जुम्लामा ६८ हजार ६३८ मतदाता छन्। प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ (क) मा ३६ हजार ७८३ र प्रदेश सभा (ख) मा ३१ हजार ६३८ मतदाता रहेको कार्यालयले जनाएको छ।
मंसिर २, २०७९ शुक्रबार १२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।