छिपरमाई गाउँपालिकाका नगरप्रमुख र प्रशासकीय अधिकृतलाई आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौं: निर्वाचन आयोगले छिपहरमाई गाउँपालिका पर्साका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ। नगरपालिकाले मिति भदौ २५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी निर्वाचन आयोगमा पनि प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो।
निर्वाचन आचारसंहिता, २०७९ लागू रहेको अवस्थामा अगाडि बढाइएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो? यदि निर्वाचन आचारसंहिता, २०७९ को विपरीत हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो? भनी स्पष्टीकरण सोधिएको छ।
यस्तै पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुनेगरी लिखित स्पष्टीकरण पेश गर्न पनि भनिएको छ। समयमै स्पष्टीकरण प्राप्त नभए कानूनबमोजिम कारबाही हुने आयोगले जनाएको छ।
मंसिर २, २०७९ शुक्रबार ११:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।