दुईटा विश्वकप जितेका पूर्व ब्राजिलियन खेलाडी काफुको दावी: ब्राजिल उपाधि विजेता, कतार क्वार्टरफाइनलसम्म

एजेन्सी: पूर्व ब्राजिलियन खेलाडी काफुले यस संस्करणको विश्वकपको उपाधि आफ्नो देश ब्राजिलले जित्ने दावी गरेका छन्। पाँचौँ पटकको विजेता ब्राजिल यसपटक छैटौँ पटक च्याम्पियन बन्ने उनको भनाइ छ।
काफु ब्राजिलले दुई पटक विश्वकप जित्दा (सन् १९९४ र २००२)का महत्त्वपूर्ण खेलाडी थिए। उनी आफ्नो समयको महान् रक्षापङ्क्तिका खेलाडी मानिन्थे।
उनको पूर्वानुमानमा ब्राजिलले फाइनलमा फ्रान्सको सामना गर्नेछ। उनले भनेका छन्, 'ब्राजिल, इङ्ग्ल्याण्ड, अर्जेन्टिना र फ्रान्स टपमा छन्। जर्मनी, बेल्जियम र पोर्चुगल पनि प्रतिस्पर्धात्मक टोली हुन्। उनीहरूमा पनि फाइनल पुगेर विश्वकप जित्ने सम्भावना छ।'
यस्तै काफुका अनुसार आयोजक राष्ट्र कतार यसपटकको विश्वकपमा क्वार्टरफाइनलसम्म पुग्नेछ। सन् २०१९ मा एसियन कप जितेर कतारले आफूलाई प्रमाणित गरिसकेको भन्दै उनले यस्तो भविष्यवाणि गरेका हुन्।
यस्तै उनले सेमिफाइनलमा भने ब्राजिलले अर्जेन्टिनालाई हराउने र फ्रान्सले पोर्चुगललाई हराउने दावी गरेका छन्। यस्तै उनले अर्जेन्टिना तेस्रो हुने पनि बताएका छन्।
मंसिर २, २०७९ शुक्रबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।