झापामा खर्चभन्दा एक अर्ब ३१ करोड बढी राजस्व सङ्कलन

काठमाडौं: झापामा खर्चको अनुपातमा राजस्व सङ्कलन बढी रहेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा खर्चभन्दा रु एक अर्ब ३१ करोड आठ लाख ६८ हजार बढी राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका कोष नियन्त्रक मधु पोखरेलले जानकारी दिए।
गत आवमा झापामा रु २३ अर्ब ३८ करोड ९६ लाख ३० हजार राजस्व सङ्कलन र रु २२ अर्ब सात करोड ८७ लाख ६२ हजार खर्च भएको उनले बताए। “केही जिल्लामा खर्च धान्ने पनि राजस्व सङ्कलन हुनसकेको छैन”, उनले भने, “झापामा त्यस्तो अवस्था छैन, करमैत्री वातावरण बन्दै गएको छ।”
झापामा करको दायरा बढाउने काम जारी रहेको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले बताए। चालु आव २०७९/८० मा आन्तरिक राजस्व कार्यालय भद्रपुरले रु तीन अर्ब ६९ करोड २० लाख ३१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको छ। चालु आवको असोजसम्ममा रु ६४ करोड २४ लाख ६५ हजार राजस्व सङ्कलन भएको छ।
कार्यालयको कार्यक्षेत्रमा करदाताको सङ्ख्यासमेत बढ्दै गएको उनको भनाइ छ। हाल करिब दुई लाख करदाता करको दायरामा आएका छन्। जसमा भद्रपुर कार्यालयअन्तर्गत एक लाख २६ हजार १६, करदाता सेवा केन्द्र इलामअन्तर्गत ३५ हजार चार सय ३७ र करदारता सेवा केन्द्र फिदिमअन्तर्गत २८ हजार पाँच सय २१ करदाता छन्।
मंसिर २, २०७९ शुक्रबार ०७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।