नारायणी किनारमा रविले बाँडेका पाँच सपना : खुसीसाथ पीण्डदानदेखि खुसीको आँसु झार्ने एयरपोर्ट

नारायणी किनारमा रविले बाँडेका पाँच सपना : खुसीसाथ पीण्डदानदेखि खुसीको आँसु झार्ने एयरपोर्ट

चितवन-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका उनले सभामा सम्बोधन सुरु गर्दा नै उनले 'जहाँबाट न्याय पाएको थिए त्यही सभा गर्न आइपुगेको' भन्दै सभामा सहभागीहरूलाई निकै इमोस्नल बनाउन भरपुर मिहेनत गरे।

'म म हुनुको प्रमाण मागिन्छ' भन्दै उनले अहिले चलिरहेको नागरिकता प्रकरणबारे प्रस्टीकरण त दिए तर नागरिकता शब्द प्रयोग गरेनन्।

लाक्षणिक शब्दहरू प्रयोग गर्दै उनले भने' म अहिले चक्रब्युहमा परेको छु। त्यहाँबाट निकाल्न मत दिनुहोला।'

उनले सभामा आफू चितवन-३ बाट उम्मेदवार बन्ने तयारी गर्दागर्दै किन चितवन-२ बाट उम्मेदवार बनेको भन्ने प्रसङ्गमा पनि प्रवेश गरेनन्।

क्षेत्र नम्बर-३ मा उनको ससुरा उद्धव पौडेल समानुपातिक उम्मेदवार बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेलाई सघाउन क्षेत्र नम्बर २ मा आएको आरोपमा पनि प्रवेश गरेनन् उनी।

उनले कार्यक्रम सञ्चालकको रूपमा गरेका केही राम्रा कामको चर्चा मात्र गरेनन् वैदेशिक रोजगारीमा बिदेसिएकाहरूको परिवारको मत आकर्षित गर्न बढो इमोसनल माहौल बनाउने प्रयत्न पनि गरे।

'दुखमा परेको चेलीको आँसु पुछ्दा मैले के बिराए' भन्दै उनले सहभागीलाई इमोशनल बनाउने प्रयत्न गरिरहे।

सम्बोधनमा उनले प्रशस्तै सपनाहरू बाँडे। उनले बाँडेका केही सपना :

वैदेशिक रोजगारीमा गएकालाई धन्यवाद पत्र

वैदेशिक रोजगारीका लागि फ्री भिसा अनि फ्री टिकट हैन बहुमत पाएर सरकार बनेमा त्यसको एक महिनाभित्र फ्री टिकट र फ्री टिकटमा युरोप अनि अमेरिकाको गल्ली-गल्तीमा स्टिकर टाँसेर पहिलो चरणमा सय जनालाई नेपाल फर्काएर विदेशमा पाउने सुविधाजस्तै सुविधा दिएर रोजगारी दिने दाबी गरे उनले। आफ्नो सरकार बनेको एक महिनामा नेपालमा रोजगारी खुलेको स्टिकर टाँस्न विदेशमा आफैँ जाने दाबी समेत गरे उनले। 

उनले आफू स्वदेश फर्कँदा अपमानित भइरहेको दाबी गर्दै उनले आफ्नो नेतृत्वको सरकार बनेमा वैदेशिक रोजगारीमा गएर स्वदेश फर्कँदा उनीहरूलाई विमानस्थलमा डेस्क राखेर धन्यवाद पत्र दिने दाबी गरे। 

उनले भने'सबैभन्दा धेरै आँसु झर्ने एयरपोर्ट हुने छैन। आँसु झर्छ तर खुसीको आँसु झर्ने एयरपोर्ट बनाउँछु।'

सुरक्षाकर्मीको स्यालुट खाने हैन, स्यालुट गर्ने

उनले सुरक्षाकर्मीहरूलाई फकाउँदै भ्रष्टाचारीलाई स्यालुट गर्ने बाध्यताको अन्त्य गर्ने, अनि उनीहरूको सन्तानको शिक्षा अनि उनीहरूको स्वास्थ्य सुविधासँगै सामाजिक सुरक्षाको व्यवस्था गर्ने उनको दाबी छ।

'हाम्रो सरकार बने लगत्तै तपाईँको परिवारको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको जिम्मा लिने छौँ,' प्रिय सुरक्षाकर्मी साथीहरू अब चाँडै नै कुनै भ्रष्टलाई स्यालुट गर्नुपर्ने छैन।

नेपालको उत्पादन मात्रै प्रयोग

उनले राजनीतिक जीवनभरि नेपालमा मात्र उत्पादन भएको कपडा लगाउने वाचा दोहोर्याउँदै नेपालमा कलकारखाना बढाउने दाबी गरे। 'यो भनेको नेपालमा कल कारखाना खोल्छु भनेको हो' उनले भने।

पिण्ड दान खुसीका साथ दिने वातावरण निर्माण

उनले हिजोको पुस्ताले मतदान गर्ने समयमा विचार नगर्दा अहिलेको पुस्ताले दुख पाएको दाबी गर्दै भने'हुर्कँदै गरेको पुस्ताको जिम्मा लिन्छु। उनीहरूले पिण्ड दान गर्दा देश सुधार्ने दललाई भोट दिएकोमा धन्यवाद दिनेछन्।'

रक्सी बोकेर नेताको घर धाउनु पर्दैन

व्यापारी व्यवसायीले आफ्नो व्यापार व्यवसायमा भन्दा पनि कुनै नेताको घरमा जानुपर्ने। पार्टीको सदस्यता कहिल्यै लिनुपर्ने छैन। दसैँ तिहार आउने बित्तिकै रक्सी बाँड्नुपर्ने बाध्यता छ। नीति बनाएर व्यवसायीको सुरक्षा गर्ने उनको दाबी छ।

मंसिर १, २०७९ बिहीबार २३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।