विद्रोहबाट उदाएको गुमनाम पार्टी ‘वीपी कांग्रेस’

काठमाडौं : नेपाली कांग्रेस(वीपी)ले आगामी संसदीय निर्वाचनमा २५१ जनाको उम्मेदवारी दिएको छ।
प्रतिनिधिसभामा ४२ र प्रदेशसभा ३६ गरी प्रत्यक्षतर्फ ७८ जना र समानुपातिक तर्फ १७३ गरेर जम्मा २५१ जनाको उम्मेदवारी दिएको हो।
०७४ को संसदीय चुनावमा २५ जना मात्र उम्मेवारी दिएका पार्टीले यसपटक भने विभिन्न ३४ जिल्लामा ७८ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दैछ। ०७४ सालमा भर्खरै दर्ता गरेको र जनतामाझ धेरै समय बिताउन नपाएकाले आफ्नो पक्षमा नतिजा नआएको पार्टीका नव निर्वाचित महामन्त्री देवेन्द्र प्रकाश पौडेलको दाबी छ।
वीपी कांग्रेसले ०७९ सालको स्थानीय चुनावमा भने मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य गरेर जम्मा १५३ जनाको उम्मेदवारी दिए। त्यसमध्ये डडेल्धुराको दश स्थानमा जित पनि हात पार्यो। प्रधानमन्त्री देउवाले भोट हाल्ने वडामा त वीपी कांग्रेसको प्यानलनै विजयी भयो। त्यसैगरी अमरगढी नगरपालिकाको एउटा वडामा पनि जित निकाल्यो।
‘मेयरको उम्मेदवारहरू पनि एकदमै न्यून मतान्तरले हारेको हो, समग्रमा भन्नुपर्दा स्थानीय निर्वाचनमा हाम्रो सशक्त उपस्थिति रह्यो,’ महामन्त्री पौडेल भने, ‘त्यसबाट हामीले थप उत्साह र प्रेरणा पायौं, स्थानीय तहको निर्वाचनमा ४५ जिल्लामा भएको संगठन आज ६० जिल्ला पुगेको छ।’
पार्टी नयाँ, नेता पुराना
वीपी कोइरालाको समग्र सिद्दान्तलाई आत्मसाथ गर्ने भनेर २०७४ असार ३० गते निर्वाचन आयोगमा दर्ता भएको कांग्रेस वीपीको औपचारिक घोषणा भने ०७४ कार्तिक २ गते भएको थियो। तात्कालिक सभापति हरिबोल भट्टराईको अध्यक्षतामा १७ सदस्य समिति बनेर पार्टी सुरु भएको हो।
कांग्रेसका पुराना नेताहरू मिलेर गठन गरेको पार्टीमा अहिले भने १५१ केन्द्रीय सदस्यसहित पार्टी अध्यक्ष तथा सभापतिमा शेरचन छन्। स्थापनाकालदेखि अहिलेसम्म आइपुग्दा पार्टीले विभिन्न ६० जिल्लामा जिल्ला समिति र महिला संघ, नेशनल युथ कांग्रेस, नेपाल विद्यार्थी संगठन, दलित संघ लगायतका सात वटा भातृ संस्था निर्माण गरेको छ।
सुरुमा ५५ जनाको केन्द्रीय सदस्य रहेको पार्टीमा विभिन्न चरणमा अन्य पार्टीसँगको सहकार्यपछि केन्द्रीय सदस्य संख्या पनि बढ्दै गएको हो। यसमा कांग्रेस र प्रजातान्त्रिक विचारधाराका मात्रै होइन, आफूलाई कम्युनिष्ट भन्ने दलहरू पनि समाहित भएका छन्।
२००७ सालको क्रान्तिपछि उदाएको नेपाली कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रवादलाई बिर्सिएर ०५१ सालदेखि नवउदारदारवादको सिद्दान्तसँग नजिक हुन गएको महामन्त्री पौडेलको आरोप छ। ०६२÷०६४ सालको आन्दोलनपछि कांग्रेस झन् उन्माद हुँदै गएको तथा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेता छाडेपछि विचलन बढ्दै गएको उनले बताए।
प्रजातन्त्रको आचरणमा हुर्केको पार्टी भए पनि कांग्रेसले आफ्नो मुख्य उदेश्य बिर्सिदा प्रजातान्त्रिक धार बोकेका मानिसहरु निराश हुन थालेको उनको भनाइ छ। त्यसपछि पार्टी सदस्यता छाड्नेहरू बढेको उनको विश्लेषण छ।
‘पछि पार्टी सदस्यताहरू छोड्ने क्रम बढि भयो। नेपालमा कम्युनिस्ट पार्टीको रुपमा अनेक पार्टी देखे तर, प्रजातान्त्रिक पार्टीको विकल्प हुन सकेन। कुनै बेला सभापति देउवाले पार्टी फुटाए पनि त्यसलाई अगाडी बढाउन सकेनन्,’ उनले भने, ‘त्यहि भएर एउटा दरिलो वैकल्पिक पार्टी निर्माण गर्नुपर्छ भनेर वीपीको सिद्दान्तलाई अवलम्बन गर्नको उद्देश्यले वीपी कांग्रेस पार्टी खोलेको हो।’
वीपी कांग्रेसको चुनावी चिन्ह दिने क्रममा निर्वाचन आयोगले अन्याय गरेको उनले बताए। आयोगसमक्ष आफूहरूले दुईटा रुख चुनाव चिन्ह, रुखमा चौतारा निर गाइ बसेको र रुखमाथि चरो बसेको गरी तीन विकल्प दिए पनि आयोगले करुवा चुनाव चिन्ह दिएको उनको भनाइ छ।
तर, अहिले उनी यसकै सन्तुष्ट छन्। करुवा चिन्ह लोकप्रिय बन्दै गइरहेको उनको दाबी छ। चुनावी चिन्हको विषयलाई लिएर सर्वोच्च अदालत गए पनि त्यो विषयले अहिलेसम्म पूर्णता पाउन सकेको छैन।
‘हराएका थिएनौं’
पार्टी निर्माण गरेको लगभग डेढ वर्षपछि कोरोना महामारी भए पनि पार्टीले विद्रोह गर्न नछोडेको उनले बताए। लकडाउनको समयमा विकल्प खोज्नुपर्ने, निर्मला पन्तको पक्षमा बोल्ने, त्यस्तै गुठि विधेयक, एमसीसी लगायतका विभिन्न काण्डहरूको विरोधमा निरन्तर आन्दोलनमै रहेको महामन्त्री पौडेलको दाबी छ।
‘कोरोनाको कारण हामी जिल्ला–जिल्ला घुम्न पाएनौं। जुलुसहरू त बन्द नै थियो। अनि उचित स्रोत र साधनले पनि हामीलाई केहि असहज भएको हो,’ उनले भने, ‘तर, अहिले पार्टीको प्रभाव बढेको छ, पहिला २५ जना सदस्यलाई उम्मेदवार बनाएकोमा अहिले २५१ जनलाई बनाएका छौं।’
आफूहरूले नेपाली कांग्रेस छाड्दा ६० हजार कार्यकर्ताले पार्टी छाडेकोमा अहिले लगभग डेढ लाख पुगेको पौडेलको भनाइ छ। कांग्रेसले गरेको गठबन्धन वीपीको सिद्दान्त विपरीत भएको भन्दै उनले वीपी कांग्रेस र नेपाली कांग्रेसमा फरक सैद्धान्तिक फरक भएको तर्क गरे।
‘हामी आत्मनिर्भरलाई आत्मसाथ गर्छौं। नेपाली कांग्रेस परनिर्भरलाई आत्मसाथ गर्छ,’ उनले भने, ‘नेपाली कांग्रेस पुरानो बोतलमा नयाँ रक्सी हुन गयो, वीपी कांग्रेस बोतल सँगसँगै रक्सी पनि पुरानै हो।’
आफ्नो पार्टीले अन्य पार्टीसँग तालमेल नगरेको दाबी गर्दै उनले डडेल्धुरामा भने एमालेले आफैँ सहयोग गर्छु भन्दै आएको दाबी गरे।
‘डडेल्धुराको लागि मात्र एमालेले हामीलाई सहयोग गर्छु भनेको हो। अब कति सहयोग गर्छ÷गर्दैन त्यो उहाँहरूको कुरा हो। हामीले त एमाले अध्यक्ष ओली उठेकै ठाउँमा पनि उम्मेदवार उठाएकै छौं नि!’
देउवाविरुद्धकाे उम्मेदवारीले चर्चामा
वैकल्पिक पार्टी खोजिरहेको बेला वीपी कांग्रेसलाई जनताले वैकल्पिक शक्ति मानेकाले पार्टीको चर्चा चुलिएको उनको दाबी छ। त्यससँगै पछिल्लो समय डडेल्धुरामा कर्णबहादुर मल्लले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिँदै चुनावी मैदानमा आएपछि पनि पार्टीको चर्चा झन् बढेको हुनसक्ने महामन्त्री पौडेल बताउँछन्।
‘अहिलेसम्म पार्टीको प्रभाव राम्रो छ, बाँकी त चुनावी परिणामले पनि देखाउने कुरा हो,’ उनले थपे, ‘पार्टीमा सदस्यको आकर्षण बढेजस्तै जनताहरूले पनि एउटा आशाको नजरले हेर्न थालेका छन्, जनताले विकल्प खोजेका छन् हामी त्यसका लागि तयार छौं।’
‘कांग्रेस’ र ‘वीपी कांग्रेस’ को मिल्दोजुल्दो नाम र पुराना नेताहरूका कारण आम जनतामाझ अलमल त छँदैछ। अर्को अधिवेशनमा नामलाई लिएर पनि छलफल गर्ने उनको भनाइ छ।
‘हामीले अर्को नाम राखेको भए पनि त हुन्थ्यो तर कांग्रेस छोडेर जान नसकेको हुँदा वीपी कांग्रेस राखेका हौं,’ उनले थपे, ‘वीपी कांग्रेस भन्दा छुट्टै मज्जा पनि हुने रहेछ, जनताहरू पनि यसमा जोडिन सजिलो भएको छ।’
वीपी कांग्रेस राष्ट्रिय पार्टी हुनको लागि तयार भएर बसेको र यसपटकको निर्वाचनको परिणाम पनि आफूतर्फ आउने विश्वाससमेत रहेको उनले बताए।
मंसिर १, २०७९ बिहीबार २२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।