बाटोमा बाख्रा करायो भने पनि मलाई नै जिस्काको जस्तो लाग्छ : गगन थापा

बाटोमा बाख्रा करायो भने पनि मलाई नै जिस्काको जस्तो लाग्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौं–४ का उम्मेदवार हुन्।

निर्वाचन नजिकिएसँगै घरदैलो र प्रचारप्रसारमा उनी सक्रिय छन्। यसैक्रममा उनले विभिन्न अन्तरवार्ता पनि दिइरहेका छन्।

यसैबीच उनले एक अन्तरवार्तामा आफूलाई आजकल बाख्रा कराउँदा पनि आफैँलाई जिस्काएको जस्तो लाग्ने बताएका छन्।

‘मेरो सबैभन्दा बढि ट्रोल हुने विषय भनेको बाख्रा,’ युट्युबर विशाल गौतमसँगको अन्तरवार्तामा उनले भनेका छन्, ‘बाटोमा खसी करायो भने पनि मलाई जिस्काको हो कि जस्तो लाग्छ, मान्छेले बाख्रा–बाख्रा भन्दा मलाई हाँसो पनि उठ्छ।’

नुवाकोटमा बाख्रा पालन गर्दा उनले सरकारबाट लाखौं रुपैयाँ अनुदान लिएर डुबाएको आरोपमा उनलाई ट्रोल बनाउने गरिएको छ। उनको सामाजिक सञ्जालको कमेन्ट बक्समा पनि उनलाई गाली गर्नेले ‘बाख्रा’ भनेर कमेन्ट गरिरहेका हुन्छन्।

सरकारसँग लाखौं रूपैयाँ अनुदान लिएको आरोपको खण्डन गर्दै उनले भने, ‘सरकारसँग हामीले अचानो पनि लिएको छैन।’

यस्तै, उनले आफ्नोबारेमा नबुझी सामाजिक सञ्जालमा गाली गर्नेहरूलाई बुझिदिन आग्रह गरेका छन्। पढेलेखेका युवाहरू नै नबुझी सामाजिक सञ्जालमा ट्रोल बनाएको देख्दा आफूलाई दया लाग्ने उनले बताए।

अन्तरवार्तामा उनले आफू १६ वर्षदेखि किताब पसलमा काम गर्न थालेको बताए। आफैँले उद्यम गर्न मन लागेपछि मिडिया कम्पनी खालेर कयौं मिडियाकर्मी उत्पादन गरेको उल्लेख गरे।

मिडिया कम्पनीसँगै आफूले बाख्रापालन सुरु गरे पनि त्यसमा भने ठूलो रकम डुबेको उनले सुनाए। त्यसअघिका सबै बिजनेसमा नाफाको बारेमा मात्रै सोच्दा फाइदामा गएको उनले बताए।

बाख्रापालनमा भने आफूले नाफाको भन्दा पनि सेवामुलक भावमा हेर्दा अप्ठ्यारो परेको भन्दै उनले त्यस व्यवसायबाट ९८ लाख रूपैयाँ डुबेको बताए।

 

मंसिर १, २०७९ बिहीबार २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।