नवलपरासीका मतदान अधिकृत प्रहरी नियन्त्रणमा

परासी : नवलपरासीमा एक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी निर्वाचन क्षेत्र नंं. २ को प्रदेशसभा‘क’ अन्तर्गत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा रहेका मतदान अधिकृतमा पृथ्वीराज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिए। ५६ वर्षीय चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत हुन्।
निर्वाचन सामाग्री बुझ्नेक्रममा मुख्य निर्वाचन अधिकृतसँग मादक पदार्थ सेवन गरी अस्वभाविक व्यवहार देखाएकाले उनलाई नियन्त्रणमा लिएको डिएसपी पाण्डेले बताए।
चाैधरीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त गरेको छ। उनको ठाउँमा वैकल्पिक मतदान अधिकृतलाई खटाइएको छ।
नियन्त्रणमा रहेका चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
मंसिर १, २०७९ बिहीबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।