चितवन सभामा रविले भने- 'म सधैँ चक्रब्युहमा पर्दै आएको छु,  अहिले पनि चक्रब्युहमा परिसकेको छु'

चितवन सभामा रविले भने- 'म सधैँ चक्रब्युहमा पर्दै आएको छु,  अहिले पनि चक्रब्युहमा परिसकेको छु'

चितवन : नागरिकताको वैधताको विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू चक्रब्युहमा फसिसकेको बताएका छन्। चितवनको नारायणी किनारामा भएको पार्टीको सभामा बोल्दै उनले भने' मलाई पटक-पटक म हुनुको प्रमाण मागिन्छ। म सधैँ चक्रब्युहमा पर्ने रहेछु। म चक्रब्युहमा परिसकेको छु।'

अमेरिकी नागरिकको रूपमा नेपालमा आएर नेपाली नागरिकता नछाडेको खुलासा भएसँगै अमेरिकी नागरिकता त्यागेका उनले खारेज भइसकेको नेपाली नागरिकता ब्युँताउने प्रक्रिया पुरा नगरेको स्वीकार गरिसकेका छन्।

सभामा उनले नागरिकता विवादबारे प्रवेश गरेनन्। तर साङ्केतिक रूपमा भने आफू फसिसकेको भने स्वीकार गरे। 

उनले भने' यहाँ केही गर्छु भन्नेले, यहाँ केही नगर्नेलाई जवाफ दिएर बस्नुपर्ने रहेछ। म सधैँ चक्रब्युहमा पर्ने रहेछु। सञ्चारकर्ममा रहँदा पनि घेरिएर रहन्थे। म फेरि एउटा चक्रब्युहमा छु। मलाई चक्रब्युहबाट निकाल्न यहाँहरूको साथ चाहिन्छ।'

उनले अभिमन्युलाई चक्रब्युहबाट जोगाउने जिम्मा चितवनवासीको जिम्मा रहेको भन्दै उनले आफू राजनीतिमा आएर घण्टी बजाएको तर मतदानको दिन सबैको ब्यान्ड बज्ने दाबी गरे।

उनले आफूलाई 'पटक-पटक म हुनुको प्रमाण' मागिने गरेको भन्दै उनले विवादसँग डराउने मान्छे नभएको भन्दै भने' मलाई देशबाट निकाल्न खोजेका पनि थिए। ती अहिले कहाँ छन् थाहा छैन।'

उनले आफू कसैसँग नडराउने स्वभावको रहेको दोहोर्याउँदै नेपालमा अहिले वैदेशिक रोजगारमा जान फ्री भिसा र फ्री टिकटको स्किम आएको भन्दै आफ्नो पार्टीको स्किम भने' हाम्रो सरकार बन्यो भने एक सय दिनमा विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारी दिनेछौँ। म आफैँ यो देशमा फ्रीमा रोजगारी दिन विदेशका गल्ती गल्लीमा गएर स्टिकर टाँस्ने छु।'

मंसिर १, २०७९ बिहीबार १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।