निर्वाचनको दिन मौसम सफा रहने, मतदातालाई सहज

काठमाडौं: प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको दिन मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उक्त दिन मौसम सफा रहने जनाएको हो।
निर्वाचनका दिन र त्यसको दुई दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उमम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। महाशाखाका मौसमविद् हीरा भट्टराई भन्छन्, “मौसम बदली आज मात्रै हो निर्वाचनका दिन मौसम सफा रहने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली भेगका थोरै क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।”
महाशाखाले जारी गरेको प्रारम्भिक मौसम पूर्वानुमान अनुसार मङ्सिर २ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
मङ्सिर ३ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाले भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यसैगरी मङ्सिर ४ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गरिने महाशाखाले उल्लेख गरेको छ।
मंसिर १, २०७९ बिहीबार १०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।