निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो: प्रम देउवा

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो: प्रम देउवा

काठमाडौं: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन्। आज एक भिडियो सन्देश जारी गर्दै उनले मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका छन्।

उनले सन्देशमा भनेका छन्, “निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो। जाहाँनिया राणा शासनविरुद्धको आन्दोलनदेखि अहिलेसम्म मुलुकले राजनीतिक सङ्घर्षको चरण पूरा गरिसकेको छ। अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्नेछ।”

विसं २०४६ पछि मुलुकले आर्थिक र सामाजिक विकासमा एक बाटो लिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताएका छन्।

“हाम्रा युवा प्रविधि र ज्ञानमा उत्कृष्टता हासिल गर्दै छन्। उनीहरूको ज्ञानको कदर हुने गरी आगामी दिनमा हामी नयाँ सोचका साथ अघि बढने छौँ। हाम्रा शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त दुरुस्त पार्ने परिपाटीको विकास गर्नेछौँ”, प्रधानमन्त्री देउवाले भनेका छन्।

निर्वाचनमा जनताको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्गचित्र तय गर्ने उनको भनाइ छ।

मंसिर १, २०७९ बिहीबार १०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।