मलेसियाको नेपाली दूतावासले सुरु गर्यो 'श्रमिकका लागि घुम्ती सेवा'

मलेसियाको नेपाली दूतावासले सुरु गर्यो 'श्रमिकका लागि घुम्ती सेवा'

काठमाडौं: मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ। नेपाली श्रमिकहरू कार्यरत रहेको शहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए।

बुधबार क्वालालम्पुरबाट करिब चार घण्टाको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरे। गैरआवासीय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरूसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको हो।

एक हजारभन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा २८० जना श्रमिकले राहदानी सम्बन्धी सेवा लिएका थिए। घुम्ती सेवामा राहदानी सम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरू प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ।

घुम्ती सेवा उद्घाटनका क्रममा राजदूत पौडेलले नेपाली श्रमिकहरू कार्यरत कम्पनीको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकहरूसँग अन्तरक्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल समेत गरेका थिए।

सुरक्षा गार्ड तथा सरसफाइ सम्बन्धी कम्पनीहरूमा कार्यरत नेपाली श्रमिकहरूको गुनासो आएपछि उनले सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन्।

विशेषत सुरक्षागार्ड र सरसफाइ सम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम-सम्झौता २०१८ र मलेसियाको श्रम कानूनअनुसार व्यवस्थित गर्न लागिएको राजदूत पौडेलले बताए। राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दूतावासमा बोलाएर समेत छलफल गर्दै आएका छन्।

मागपत्रमा प्रस्तुत गरेअनुसार आवास सुविधा, पारिश्रमिक र कार्यसमयलाई अक्षरस पालना गरिने उनले बताए। यसले गर्दा अहिले सुरक्षागार्ड र सरसफाइ सम्बन्धी मागपत्र प्रमाणीकरणमा केही ढिला भए पनि दीर्घकालमा यसबाट श्रमिकहरूको सम्मान तथा सेवा सुविधामा सहयोग पुग्ने उनले बताए।

घुम्ती सेवा उद्घाटन कार्यक्रममा श्रम काउन्सिलर दीपक ढकाल, द्वितीय सचिव प्रेमबहादुर बुढा थापा लगायत दूतावासका कर्मचारीहरू उपस्थित थिए।

मंसिर १, २०७९ बिहीबार ०९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।