पर्यटनमन्त्री श्रेष्ठले मरणोपरान्त अङ्गदान गर्ने, मञ्जुरीनामा पत्रमा हस्ताक्षर

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी दान गर्ने घोषणा गरेका छन्। मन्त्री श्रेष्ठले मृत्युपश्चात् मिर्गौला/मुटु/फोक्सो/कलेजो/प्याङक्रियाज/सानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गरेका छन्।
मन्जुरीनामामा भनिएको छ,‘‘मेरो मृत्युपश्चात् मेरो शरीरबाट मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा झिकी मृगौला, मुटु, फोक्सो, कलेजो, प्याक्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकोले मानव शरीरको अङ्ग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम् जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखी दिएको छु।’’
आफूले दान गरेका अङ्गबाट कुनै बिरामीले पुनर्जीवन पाउने भएकोले अङ्गदानको घोषणा गरेको मन्त्री श्रेष्ठले बताए।
मंसिर १, २०७९ बिहीबार ०९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।