आज मध्यरातिबाट 'स्थिर समय', निर्वाचन प्रचारप्रसार सम्बन्धी सम्पूर्ण काम निषेध

काठमाडौं: आज निर्वाचनको प्रचारप्रसार गर्ने अन्तिम दिन रहेको छ। आज मध्यरातिबाट 'स्थिर समय' सुरु हुने भएकाले निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण काम गर्न निषेध गरिएको छ।
निर्वाचन आयुक्त एवं केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक रामप्रसाद भण्डारीका अनुसार पहिले-पहिले मौन अवधि वा शून्य समय भनिँदै आएको अवधिलाई नै स्थिर समय भनिएको हो।
'निर्वाचन कसूर तथा सजाय ऐनको दफा २४ को ५ ले के भन्छ भने निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावैदेखि निर्वाचनसँग सम्बद्ध कुनै पनि कार्यक्रम गर्न पाइँदैन। सम्पूर्ण कार्य निषेध हुन्छ', भण्डारीले भने।
४८ घण्टाको यो अवधिलाई पहिला मौन अवधि भनेर सम्बोधन गरिए पनि कानूनमा मौन अवधि भन्ने शब्द नभएकाले त्यसलाई शून्य समय भन्न थालिएको र त्यसलाई पनि स्थिर समय भनेर सम्बोधन गर्न उचित हुने भण्डारीको भनाइ छ।
'मङ्सिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कार्य निषेध हुन्छ। प्रचारप्रसार गर्न पाइँदैन', उनले भने।
मंसिर १, २०७९ बिहीबार ०९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।