पुसदेखि पनौतीमा प्याराग्लाइडिङ सञ्चालन हुने, गुर्दुम डाँडाबाट उडान, बन्चरेटारमा अवतरण

काठमाडौं: पनौती नगरपालिकास्थित कुशादेवीमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको थियो।
उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालका लागि नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ। प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताए।
उनका अनुसार मङ्सिरमै प्राविधिक प्रक्रियाको काम सकिनेछ भने पुसदेखि उडान थालिनेछ।
सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको हो। कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो। त्यसबेला तीन दिनसम्म परीक्षण उडान गरिएको थियो। त्यसपछि अन्य दुई समयमा पनि व्यावसायिकरूपमा उडानका लागि परीक्षण गरिएको थियो।
उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले अनुमति दिइएको बताइएको छ। हुमागाईँका अनुसार दैनिक १० उडान भर्न बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म अनुमति दिइएको छ। तोकिएको समयमा ६ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने बताइएको छ तर, सुरुमा पाँच र त्यसपछि १० प्याराग्लाइडिङ सञ्चालन गरिने छ।
प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवाले अध्ययन गरिरहेको र यसबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुने पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताए।
यस्तै प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा अवतरण हुन्छ। गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरी चार किलोमिटर हो। प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ। उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार ३५० मिटर उचाइमा छ भने अवतरण हुने स्थान बन्चरेटार एक हजार ३०० मिटरमा छ।
पनौती नगरले पनि आर्थिक वर्ष २०७९/८० मा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ। यो वर्ष हाइकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्न आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै साहसिक खेलजन्य गतिविधिको प्रवर्द्धनार्थ प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइक्लिङलगायत सञ्चालन गरिने योजना छ।
मंसिर १, २०७९ बिहीबार ०८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।