तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण, चौबिसै घण्टा निर्माण कार्य जारी

तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण, चौबिसै घण्टा निर्माण कार्य जारी
साङ्केतिक तस्बिर

काठमाडौं: तनहुँ जलविद्युत् आयोजनाको विद्युत्‌गृहतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ। कुल एक हजार ४०८ मिटर लामो सुरुङ खन्नुपर्ने छ।

आयोजनाका वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीका अनुसार विद्युत्‌गृहअन्तर्गत सुरुङ निर्माण कार्यमा ४७५ जना जनशक्ति परिचालन गरिएको छ। बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ।

उनले भने, “आयोजनाले चौबिसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ।” प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युत्‌गृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको छ। पानी निस्कने सुरुङको ढलान गर्ने काम भइरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोखरेलले जानकारी दिए।

उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ। त्यसैगरी, प्याकेज दुईअन्तर्गतको विद्युत्‌गृह खन्ने कामसमेत सम्पन्न भइसकेको छ।

आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत्‌गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ। सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाले जनाएको छ।

विद्युत्‌गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि प्रारम्भ भएको हो।

सिनोहाइड्रो कम्पनीले ४३७ दशमलव एक मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ। २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य पनि सम्पन्न गरेको छ।

मंसिर १, २०७९ बिहीबार ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।