काठमाडौं–७ : खानेपानी अभाव र बँदेलसँग जुधिरहेको पाँचमाने गाउँ

काठमाडौं–७ : खानेपानी अभाव र बँदेलसँग जुधिरहेको पाँचमाने गाउँ

काठमाडौं : चक्रपथ भित्रको कोलाहल। भ्याइ नभ्याइ दैनिकी। काठमाडौं बसेको एक दशक बढि हुँदा काठमाडौंका एकाध डाँडा चढियो। डाँडा चढेपनि त्यहाँका स्थानीयसँग भलाकुसारी खासै गरिएन। चुनावको बेला काम पनि हुने, मन शान्त पनि हुने।

कोलाहलबाट शान्त खोज्दै डाँडा चढ्दा त्यहाँको नागरिकको कष्टकर दैनिकी, अभाव र सरकारको बेवास्ताले भने मनै चसक्क हुने। काठमाडौंको दक्षिणकाली, फर्पिङ क्षेत्र नम्बर १०, क्षेत्र नम्बर ९ मा पर्ने मझुवा गाउँ, क्षेत्र नम्बर २ मा पर्ने साँखुपछि हाम्रो ध्यान सोझियो काठमाडौंको क्षेत्र नम्बर ७ को तारकेश्वरको पाँचमाने गाउँ  वडा नम्बर ३ तिर।

यति गाउँ डुलेको आधारमा भन्न सकिन्छ, काठमाडौंमा गरिबी छ, अभाव छ, आधारभूत सेवा नपाएको नागरिकको छटपटी छ अनि सुदूरजिल्लामा जस्तै यहाँ पनि सरकारको बेवास्ता छ। के हुम्ला, के दार्चुला नेताहरू आश्वासन जताततै उस्तै छ अनि नागरिकको नेताप्रति रोष र गुनासो पनि।

विहान साढेँ आठ बजे लागियो पाँचमानेतिर। बालाजु बाइपासको धुलैधुलो कच्चीबाटो। करिब ४५ मिनेटमा तीनपिप्ले पुरायो बसले। त्यहाँबाट हिड्नुको विकल्प थिएन। तीनपिप्लेमा चियाँ खाँदै गर्दा जितपुरका रामेश्वर घिमिरेले सोधिहाले,  ‘नानीहरू कता जान आउनुभा?’

‘अँधेरी खोलाको पानी त्यहीमाथि छ, तल बजारमा बस्नेले यहि पानी खान्छन्,’ स्थानीय तुलसा धितालले भनिन्, ‘मुहान छ पानी छैन, हामीलाई अन्यायमा पार्न पाइन्छ त?’

चक्रपथभित्र जो जहाँ सुकै जाओस्, कसैलाई सोध्ने फुर्सद हुँदैन। तीनपिप्ले भनेको गाउँतिरको बजार जस्तै ठाउँ। हामीले भन्यौं ‘चुनाव लाग्यो, गाउँ तिर बुझ्न आएको नि!’

हाम्रो कुरा नसकिदै उनले भने, ‘काठमाडौंको दुर्गम ठाउँ हो नानी यो, यहाँको अभाव र कष्टकर जीवनशैली बुझिसक्नु छैन।,’

बोल्दै जाँदा रोकिएनन् उनी र भने, ‘मैले थाहा पाएदेखि कांग्रेसलाई भोट हालेको छु, अहिले त हाम्रो उम्मेदवार छैनन् कसलाई पो भोट हाल्ने हो। बाबुरामकी छोरीलाई त के हाल्नु?’

सत्ता गठबन्धनको भाग अनुसार काठमाडौं–७ मा नेपाल समाजवादी पार्टीबाट माओवादीको चुनाव चिन्ह लिएर यस क्षेत्रबाट उठेकी छन् मानुषी यमी भट्टराई। २०७४ को चुनावमा एमालेका रामवीर मानन्धर विजयी भएका थिए यहाँबाट।

एमालेले मानन्धरलाई टिकट नदिएर श्याम घिमिरेलाई दिएपछि उनी बागी उठेका छन्। यस क्षेत्रमा कांग्रेसको उम्मेदवार नभएर घिमिरेलाई जस्तै असन्तुष्टि देखियो कांग्रेस कार्यकर्तामा।

कच्ची सडक, खानेपानीको अभाव
कच्चीबाटो भए पनि हामी भुवनेश्वर मन्दिर हुँदै हिँडेरै उकालो लाग्यौँ। वरपर खेत केही बाँझो थियो, केहीमा तोरी रोपिएको। ठाडै उकालो आधा घण्टा हिँडेपछि पुगियो पाँचमाने गाउँ।

पाँचमाने गाउँकी लक्ष्मी घिमिरे र सोविता घिमिरे सेल रोटी पकाउँदै थिए। तारकेश्वर महादेव मन्दिरमा दर्शनका लागि जाने भक्तजनका लागि खाजा तयार गरिएको लक्ष्मी घिमिरेले बताइन्।

‘हामी शनिबार–शनिबार मन्दिर पुगेर फर्किने तिर्थालुलाई खाजा तयार गर्छाैँ,’ उनले भनिन्, ‘सधैँ त हुँदैन, शनिबार मात्रै हो। यहाँ हामीलाई दुःखै छ।’

खेती किसानी उनीहरूको प्रमुख पेशा हो। उनीहरू दुवैका श्रीमान् माछापोखरीमा रहेको मत्स्यपालन केन्द्रमा काम गर्छन्। आउजाउ गरिरहन्छन्।

पाँचमाने गाउँ तारकेश्वर मन्दिरको फेदिसम्म बाटोको ट्र्याक त खुलेको छ, तर पूरै कच्ची छ। यस गाउँ यतिसम्म पिछडिएको थियो कि १० वर्षअघि मात्रै गाउँमा बिजुली बलेको स्थानीय बताउँछन्। खानेपानीकै अभाव भएको ठाउँमा बारीमा लगाउने पानी हुने कुरै आएन।

‘सरकारले बँदेलले खेती खाइदियो भनेर खर्च त दिन्छ। तर, त्यो अति नै न्यून छ। त्यो पनि सिफारिस बनाउनै सकस,’ उनले भनिन्, ‘अब जसले बँदेल नियन्त्रण गर्छ उसैलाई भोट दिने हो।’

‘स्वरोजगार हुनलाई अवसर पनि छैन। आन्तरिक पर्यटक आउँथे होलान् कच्ची छ बाटो,’ स्थानिय पर्यटन व्यवसायी हरिबहादुर घिमिरे भन्छन्, ‘स्थानीय उत्पादन खुवाएर तान्न सकिन्थ्यो तर पानी अभावले तरकारी उत्पादनै गर्न सकिएको छैन।’

अँधेरी खोलाको पानी तल बालाजुले खान्छ। ट्यांकी पाँचमानेमै छ। ढकनीले छापेर ट्याकी बनाइएको छ पाँचमानेमै। बाहिरबाट पानी कराएको सुनिन्छ पनि।

पहिले पानी लैजाँदा २ वटा धारा छोडेको भए पनि खानालाई केही भरथेग त हुन्छ तर पर्याप्त हुँदैन। खेतबारीमा पानी लगाउन उस्तै सकस परेको स्थानीयको भनाइ छ।

‘अँधेरी खोलाको पानी त्यहीमाथि छ, तल बजारमा बस्नेले यहि पानी खान्छन्,’ स्थानीय तुलसा धितालले भनिन्, ‘मुहान छ पानी छैन, हामीलाई अन्यायमा पार्न पाइन्छ त?’

बँदेलको नियन्त्रण जस्ले गर्छ उसैलाई भोट
शिवपुरी राष्ट्रिय निकुञ्ज नजिकै छ पाँचमाने गाउँ। निकुञ्जमा विभिन्न किसिमका जंगली जनावरहरू छन्।

गाउँमा कहिलेकाहिँ चितुवा पसेर खोरमै भएको बाख्रा मारिदिन्छ। बाँदरले खेती खाइदिँदा किसानले जसो तसो सहेकै थिए। जब निकुञ्जमा संरक्षण गर्ने बहानामा बँदेल ल्याइयो, त्यसपछि यहाँको खेती सुकेको स्थानीय बताउँछन्।

‘४÷५ वर्ष भयो बँदेल ल्याएर छोडेको, त्यसभन्दा अघि हामीले खेती गथ्र्याैँ, खान र बेच्न पनि पुग्थ्यो,’ उनले भनिन्, ‘बँदेल ल्याएर छोडेपछि हुलका हुल बँदेल पसेर खेती खाइदिने मात्र होइन, नाश गर्न थाले।’

स्थानीयका अनुसार बँदेल राती आउँछन्। एक्लै दुक्लै देखे मान्छेलाई नै झम्टिन्छ। खेती खाने मात्रै होइन जरफेदै उखेलिदिन्छ पनि।

स्थानीय पुरुषोत्तम धितालले कोदो बारी देखाउँदै भने, ‘त्यो सबै बँदेलले खाएको हो। बँदेलले खेती खाएपछि सबैले बारी बाँझै राखेका छन्।’ 

वन्यजन्तु संरक्षण ऐन अन्र्तगत बँदेललाई समेत मार्न पाइँदैन। बँदेललाई मार्न पनि नपाइने तारबारले सरकारले नछेकिदिएकाले आफूहरूलाई सकस भएको स्थानीयको भनाइ छ। 

‘तारबार लगाएर खेती जोगाउनुपर्छ भन्छन् सरकारी मान्छे,’ शान्ति घिमिरेले भनिन्, ‘लाखौँ खर्च लाग्छ, हामीले बनाउन सक्दैनौँ सरकारले पनि बनाइदिएको छैन।’

बँदेलले खेती खाइदिएको सरकारले भरण गरिदिने भए पनि अत्यन्तै न्यून मूल्य मात्रै दिने गरेको स्थानीय पार्वती अर्यालले बताइन्।

‘सरकारले बँदेलले खेती खाइदियो भनेर खर्च त दिन्छ। तर, त्यो अति नै न्यून छ। त्यो पनि सिफारिस बनाउनै सकस,’ उनले भनिन्, ‘अब जसले बँदेल नियन्त्रण गर्छ उसैलाई भोट दिने हो।’

कात्तिक ३०, २०७९ बुधबार २०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।