विश्वकप हेर्नका लागि दर्शकले अतिरिक्त शुल्क तिनुपर्ने, फाइनलसिहत चार खेल निःशुल्क देखाइने

विश्वकप हेर्नका लागि दर्शकले अतिरिक्त शुल्क तिनुपर्ने,  फाइनलसिहत चार खेल निःशुल्क देखाइने

काठमाडौं : मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने भएको छ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई  निरन्तरता नदिन आदेश गरेसँगै दर्शकले शुल्क तिनुपर्ने भएको हो।

सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सोसम्बन्धी रिटको सुनुवाइ गर्दै थप पाँच सय रूपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न÷नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

मंसिर ४ गतेबाट सुरु हुने विश्वकप फुटबल प्रतियोगिता नेपालबाट प्रसारण गर्ने अधिकार पाएको मिडिया हब प्रालिले दर्शकसँग थप ५ सय उठाउने निर्णय गरेपछि अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराईले सो निर्णयमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

विश्वकप फुटबल उपभोक्ताले हेर्न पाउने कुरा नियमित नभई नितान्त स्वैच्छिक भएको र केही महत्त्वपूर्ण खेलहरू निःशुल्क समेत देखाउने गरी हिमालयन टीभीसँग सम्झौता भएको देखिन आएको पनि आदेशमा भनिएको छ। पहिलाे खेल, दुवै सेमिफाइनल खेल र फाइनल खेल नि:शुल्क देखाइने सम्झाैतामा उल्लेख छ।

कात्तिक ३०, २०७९ बुधबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।