लोसपाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज

लोसपाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज

काठमाडाैं : निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेकाे छ।

आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाएपछि त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकोले निजको उम्मेदवारी प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर गरेको हो।

मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानूनी व्यवस्था बमोजिम आफू अयोग्य नभएको भनि स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकुल हुने गरी प्रदेश सभा सदस्यको उम्मेदवारी मनोनयन गरेको आधारमा उम्मेदवारी खारेज गरिएकाे आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी दिए।

मेहताको उम्मेदवारी बदर भएसँगै मेहताको निर्वाचन चिन्ह साइकलमा परेका मत स्वतः बदर हुने आयाेगले जनाएकाे छ।

कात्तिक ३०, २०७९ बुधबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।