युएईविरुद्ध नेपाल तीन विकेटले विजयी

युएईविरुद्ध नेपाल तीन विकेटले विजयी

काठमाडौं : युएईविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल तीन विकेटले विजयी भएको छ।

१९१ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १३ बल बाँकी छँदै लक्ष्य भेटटयो।

उसका लागि गुल्सन झाले ३७, कुशल भुर्तेलले ३५, ज्ञानेन्द्र मल्लले २६, दीपेन्द्रसिंह ऐरीले १३ रन बनाएर आउट हुँदा आरिफ शेख र सोमपाल कामीले अविजित रहँदै क्रमशः ३३ र १६ रन बनाए।

बलिङतर्फ युएईका रोहन मुस्तफाले तीन, हजरत बिलालले दुई तथा बसील हमीदले एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १९१ रनमा समेटियो।

उसका लागि मुहम्मद वासिमले ५० रनको अर्धशतकीय पारी खेले। अलिशन शराफुले ३५ र भ्रित्य अरबिन्दले २५ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिँदा ललित राजवंशीले पनि ३ विकेट लिए। करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट हात पारे।

जितसँगै तीन खेलको सिरिज एक–एकको अवस्थामा पुगेको छ। यसअघि आइतबार भएकाे खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएकाे थियाे।

सिरिजको अन्तिम खेल शुक्रबार विहान ९ बजे हुनेछ।

कात्तिक ३०, २०७९ बुधबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।