क्रमिकरूपमा घट्दैछ तापक्रम, काठमाडौंमा न्यूनतम ९ डिग्री

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने बताइएको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.० डिग्री र अधिकमत तापक्रम २२.० डिग्री सेल्सियस रहेको छ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३०.२ डिग्री सेल्सियस हुनेछ।
हाल देशको प्रदेश नं १, बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
कात्तिक ३०, २०७९ बुधबार १०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।