फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने डोनाल्ड ट्रम्पको घोषणा, छोरी इभान्काले चुनावी अभियानमा साथ नदिने

एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने योजनामा रहेको बताएका छन्। अमेरिकाको फ्लोरिडामा आयोजित एक सभामा सम्बोधन गर्दै उनले 'अमेरिकाको पुनरागमन अब सुरु हुने बताउँदै' उम्मेदवार बन्न चाहेको बताएका हुन्।
रिपब्लिकन दलका मतदाताबीच लोकप्रिय ट्रम्पलाई पछिल्लो समय भने मध्यावधि निर्वाचनमा पार्टीको निराशाजनक प्रदर्शनको दोष लगाउँदै आइएको छ।
यस्तै राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न ट्रम्प पार्टीबाट छनोट हुनुपर्छ। तर ट्रम्पलाई चुनौती दिँदै अरूले पनि पार्टीभित्रै प्रतिस्पर्धा गर्ने देखिएको छ। यस्तोमा ट्रम्पले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न निकै कसरत गर्नुपर्ने देखिएको छ।
यसबीच ट्रम्पकी छोरी इभान्का ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा बुवाको चुनावी अभियानमा साथ नदिने बताएकी छिन्। उनले एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्, 'म मेरो बुवालाई निकै माया गर्छु। तर यो समय म मेरा सन्तान र परिवारको रूपमा हामीले बिताउने निजी जीवनलाई प्राथमिकतामा राख्दैछु।'
उनले राजनीतिमा संलग्न हुने आफ्नो कुनै योजना नरहेको पनि बताइन्। बुवालाई साथ दिनैपरे राजनीतिक वृत्तबाहिर बसेर सघाउने उनले स्पष्ट पारिन्।
कात्तिक ३०, २०७९ बुधबार १०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।