चुनावी सभा सम्बोधन गर्न प्रधानमन्त्री देउवा डडेल्धुरा, बैतडी र अछाम पुग्ने

काठमाडौं: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री देउवाले साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
देउवाले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिए।
यसअघि देउवाले कात्तिक १७ गतेदेखि चार दिनसम्म सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए।
प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा छन्। देउवा २०४८ सालयताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन्।
उनले आजै सत्ता गठबन्धनद्वारा बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। चुनावी सभाको तयारी पूरा भएको सत्ता गठबन्धनका चुनाव प्रचार–प्रसार संयोजक एवं नेपाली कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले जानकारी दिए।
बैतडीमा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर तथा प्रदेश सभा (क) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेश सभा (ख) मा कांग्रेसकै शिवराज भट्ट चुनावी मैदानमा छन्।
कात्तिक ३०, २०७९ बुधबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।