प्रचण्डले आज ताप्लेजुङ र खोटाङको चुनावी सभालाई सम्बोधन गर्ने

प्रचण्डले आज ताप्लेजुङ र खोटाङको चुनावी सभालाई सम्बोधन गर्ने
फाइल तस्बिर

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्न उनी ताप्लेजुङ पुग्ने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए।

सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभालाई नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरलगायतले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

सत्ता गठबन्धनले यसअघि जिल्लाका आठ पालिकामा चुनावी सभा सम्पन्न गरिसकेको छ। जिल्लामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। यस्तै प्रदेश सभा (क) मा एकीकृत समाजवादीका खेम वनेम र (ख) मा कांग्रेसका खगेनसिं हाङ्गाम उम्मेदवार छन्।

प्रचण्डले आजै खोटाङको दिक्तेल बजारमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्नेछन्। उक्त सभालाई कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत र नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा गङ्गालाल तुलाधरले समेत सम्बोधन गर्नेछन्।

सत्ता गठबन्धनले खोटाङका १० वटै स्थानीय तहमा चुनावी सभा सम्पन्न गरिसकेको छ। एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका रामकुमार राई, प्रदेश सभा (क) मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेश सभा (ख) मा कांग्रेसका भूपेन्द्र राई उम्मेदवार छन्।

कात्तिक ३०, २०७९ बुधबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।