पूर्ण कार्यकाल संसद चलाउने देउवाकाे प्रतिबद्धता, १५ वर्षसम्म गठबन्धन रहने प्रचण्डकाे दाबी

सुर्खेत : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको अङ्गभङ्ग गरेर संविधानको खिल्ली उडाएको बताएका छन्।
मंगलबार सुर्खेतमा पाँचदलीय गठबन्धनले गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओलीले नदिएको अधिकार प्रयोग गरेर दुई पटकसम्म संसद विघटन गरेर संविधानको खिल्ली उडाएको बताए।
‘संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक छ,’ देउवाले भने, ‘ओलीले संविधानको खिल्ली उडाउँदै संसदलाई अङ्गभङ्ग गर्न खोजे। हामी संसद भङ्ग गर्दैनौँ, पूर्ण कार्यकाल राख्छौं।’
देउवाले गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पूणर्बहादुर खड्का र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।
सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले गठबन्धन शान्ति सम्झौताको निरन्तरता भएको तर्क गरे।
देशमा राजनीतिक परिवर्तन अनुकुल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने दाबी गर्दै प्रचण्डले भने, ‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ।’
परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताउँदै उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पनि यसको आवश्यकता रहेको बताए।
कात्तिक २९, २०७९ मंगलबार १८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।