वाणिज्य बैंकहरूले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने

काठमाडौं : वाणिज्य बैंकहरूले आगामी मंसिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन्।
मंगलबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो।
आम रूपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएकोमा निक्षेपको ब्याज बढ्दा कर्जाको समेत ब्याज बढ्न जाने भएकाले नबढाउन लागिएको हो।
ब्याजदर बढ्दा आर्थिक क्षेत्रमा चाप परेको र लगानीको वातावरण क्रमशः बिग्रदै गएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्सलगायतका सङ्घ संस्थाले ब्याजदर तत्काल घटाउन माग गरिरहेको छन्।
यही सन्दर्भमा बैंकर्स सङ्घले मंसिरमा भने निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको सङ्घका उपाध्यक्षसमेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए।
सङ्घले ब्याजदर नबढाउने निर्णय गरेसँगै कात्तिक महिनामा लागू गरिएको ब्याजदर नै लागू हुनेछ। बैंकहरूले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन्।
गत वर्षको चैतदेखि गत असोजसम्म मासिक पूर्ववत् ब्याजदरमा १० प्रतिशतका दरले निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णय गरिएको थियो।
गत भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव शून्य ३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव शून्य तीन प्रतिशत ब्याजदर रहेको थियो।
कात्तिक २९, २०७९ मंगलबार १५:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।