‘ओली, देउवा र प्रचण्डले ठग ठेकेदार र अपराधीहरूको बलमा सत्तामा रजाइँ गरे’

काठमाडौं : चिकित्सा शिक्षा अभियन्ताको परिचय बनाएका डा. गोविन्द केसीले प्रमुख दलका शीर्ष नेताहरूले ठग ठेकेदार र अपराधीहरूको बलमा सत्तामा रजाइँ गरेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ठूला दलका नेताहरूले आम मानिसलाई राहत दिन भन्दा पनि ठग ठेकेदार र अपराधीहरूबाट अरबौं असुली गर्दै तिनकै बलमा सत्ताको रजाइँ गर्ने होडमा रहेको बताएका हुन्।
डा. केसीले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति प्रमाणित भएका उमेदवारहरूलाई चुनावमा नहराएसम्म देशको राजनीति नसंग्लिने बताएका छन्।
देशमा अराजकता, भ्रष्टाचार, अपराध र लुटतन्त्र मच्चाउने तथा तानाशाही आकांक्षा बोकेका तथा राज्य सञ्चालनमा नालायक प्रमाणित भइसकेको मुख्य दलका शीर्ष नेताहरूको हालीमुहाली कायम रहँदा बितेका पाँच वर्षमा देश दशौं वर्ष पछाडि धकेलिइसकेको भन्दै उनले आगामी निर्वाचनलाई जिम्मेवारीपुर्वक अवसरका रूपमा प्रयोग गर्न तथा अघिल्लो चुनावको जस्तो गल्ती फेरि नदोहोर्याउन मतदातालाई अपिल गरेका छन्।
साथै उनले आउँदा निर्वाचनमा वैदेशिक रोजगारीमा रहने युवाहरूको मताधिकार सुनिश्चित गर्ने माग पनि गरेका छन्।
डा. केसीले केहि दिनअघि नेपाली कांग्रेसबाट काठमाडौं–४ बाट प्रतिनिधि सभाका उम्मेदवार गगन थापाको पक्षमा भोट मागेमा थिए।
कात्तिक २९, २०७९ मंगलबार १४:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।