१ बजेर २५ मिनेटमा जन्मिएका बालकसँगै विश्वको जनसङ्ख्या ८ अर्ब पुग्यो

एजेन्सी: विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। विश्वको जनसङ्ख्याको रियल टाइम ट्र्याक गर्ने वेभसाइट वर्डोमिटरका अनुसार आज दिउँसो १ बजेर २५ मिनेट जाँदा विश्वका ८ अर्बौँ बालकले जन्म लिएका थिए।
यूएन रिपोर्टले १५ नोभेम्बर अर्थात् आज विश्वको जनसङ्ख्या ८ अर्ब हुने जनाएको थियो। योसँगै पछिल्लो २४ वर्षमा विश्वको जनसङ्ख्यामा २ अर्बको वृद्धि भएको छ।
यसअघि सन् १९९८ मा विश्वभर केवल ६ अर्ब जनसङ्ख्या थियो भने सन् २०१० मा जनसङ्ख्या ७ अर्ब पुगेको थियो।
यस्तै आउँदो १८ वर्षमा विश्वको जनसङ्ख्या ८ अर्ब ५० करोड हुने पनि अनुमान गरिएको छ। यद्यपि यूएनका अनुसार सन् १९५० पछि सन् २०२० मा पहिलो पटक जनसङ्ख्या वृद्धिमा १ प्रतिशतको गिरावट आएको थियो।
यसका साथै यूएनको रिपोर्टअनुसार सन् २०५० सम्ममा जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा केवल आठ देशमा हुनेछ। ती आठ मुलुकमा भारत, पाकिस्तान, फिलिपिन्स, इजिप्ट, कङ्गो, नाइजेरिया, तान्जानिया र इथियोपिया छन्।
यस्तै २०२२ देखि २०५० को बीचमा ६१ देशमा जनसङ्ख्या घट्नेछ। यसमा अधिकांश युरोपेली मुलुकहरू रहेका छन्।
कात्तिक २९, २०७९ मंगलबार १४:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।